काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी पूरा गरिसकेको छ भने प्रत्यक्ष तथा समानुपातिक प्रणालीका दल दर्ता प्रक्रिया पनि सकाइसकेको छ।
सरकारले पनि निर्वाचन सहज र प्रभावकारी बनाउन आवश्यक तयारी तथा सहजीकरण पूरा गरेको छ। राजनीतिक दलहरूले पनि आफ्नो गतिविधि तीव्र बनाउँदै चुनावी अभियान सुरु गरिसकेका छन्। मुलुक क्रमशः निर्वाचनको माहोलमा प्रवेश गरिरहेको छ र देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको देखिन्छ। प्रमुख दलदेखि नयाँ दलसम्मले देशभर निर्वाचन केन्द्रित अभियान अघि बढाइसकेका छन्।
नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरेर केन्द्रमा पठाउन सुरु गरिसकेको छ। दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवार छनोट गर्दै आएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार दुवै कांग्रेसले छनोट गरिरहेको छ। यस क्रममा अन्य दलभन्दा कांग्रेस अघि देखिएको छ।
नेकपा (एमाले)को ११औँ महाधिवेशन शनिबारबाट सुरु भएको छ। उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले बताए, “दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा एमाले बहुमत ल्याउन सक्षम छ। निर्वाचनबाट एमाले भाग्ने छैन।” उनले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन्। एमालेले आयोगले तोकेको समयसीमा भित्र आफ्नो दलको गतिविधि सम्पूर्ण रूपमा सम्पन्न गरिसकेको छ।
त्यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाएको छ। दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरिसकेको छ भने धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा पनि सन्देशसभा गरिसकेको छ। आगामी पुस ५ गते काठमाडौँमा अर्को सन्देशसभा आयोजना हुँदैछ।
दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन् कि निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्छ र त्यसका लागि पार्टी पूर्ण रूपमा सक्रिय भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेको छ। समानुपातिक प्रणालीतर्फको उम्मेदवार आवेदन दिने प्रक्रिया सम्पन्न भइसकेको छ भने पार्टी भेला तथा सभामार्फत पनि निर्वाचन केन्द्रित गतिविधि अघि बढाइरहेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले जनसङ्ख्याको आधारमा समानुपातिक प्रणालीतर्फ प्रतिशत निर्धारणको प्रक्रिया सुरु गरिसकेको छ। यसअन्तर्गत दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम लगायतका समूहका लागि प्रतिशत निर्धारण गरिनेछ।
समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दल सहभागी हुँदैछन्। आयोगले ती दल दर्ता गरी निर्वाचन चिह्न पनि उपलब्ध गराइसकेको छ। मङ्सिर २१–२३ गते तीन दिनभित्र समानुपातिक निर्वाचनमा भाग लिन आवेदन दिएका दलमध्ये अन्तिममा एक सय दल कायम भएका छन्।
प्रत्यक्ष प्रणालीतर्फ ११४ राजनीतिक दलले भाग लिनेछन्। दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्नमा भाग लिने गरी आवेदन दिएकाले ९३ निर्वाचन चिह्न कायम गरिएको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरी आवश्यक सुझाव सङ्कलन गरिरहेको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया