काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट हटाउनुपर्ने मागसहित जेन–जी युनाइटेडले अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बिहान अर्थ मन्त्रालय पुगेको जेन–जी युनाइटेडको टोलीले संयोजक जनक परियारमार्फत विभिन्न माग समेटिएको ज्ञापनपत्र अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा प्रचलित ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्नुपर्ने माग गर्दै हालको नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाइएको छ। जेन–जी युनाइटेडका अनुसार नेपाल सरकारद्वारा गठन गरिएको सिफारिस समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति वा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर उक्त व्यवस्थाविपरीत केवल डा. पौडेलको नाम मात्र सिफारिस गरिएको भन्दै नियुक्ति प्रक्रियामै शंका उत्पन्न भएको दाबी गरिएको छ।
संगठनले डा. पौडेलको शैक्षिक योग्यता र अनुभव पनि ऐनअनुकूल नरहेको आरोप लगाएको छ। ज्ञापनपत्रमा उनले कम्प्युटर इन्जिनियरिङमा स्नातक तथा कृषि विषयमा स्नातकोत्तर गरेको उल्लेख गर्दै गभर्नर पदका लागि आवश्यक अनुभव र विषयगत योग्यता नपुगेको दाबी गरिएको छ।
जेन–जी युनाइटेडले गभर्नर बर्खास्तीको मागसँगै अर्थ मन्त्रालयमा विचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, अनधिकृत रूपमा लिइएको ब्याज ऋणीलाई फिर्ता गराउनुपर्ने तथा राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई थप जिम्मेवार बनाइनुपर्ने मागसमेत अघि सारेको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया