काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ। तर अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव पदलाई लिएर आन्तरिक असमझदारी देखिएको छ।
महासचिव पदका आकांक्षीमध्ये पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो दाबी कायम राखेका छन्। उनी महासचिवकै उम्मेदवार बन्ने अडानमा रहेका छन्। यता, अध्यक्ष ओली भने हालका महासचिव शंकर पोखरेललाई निरन्तरता दिने पक्षमा देखिएका छन्।
महासचिव पोखरेलले पनि पुनः सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तो अवस्थामा महासचिव पदका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। ज्ञवालीले भने महासचिवमा उम्मेदवारी दिने वातावरण नबनेमा आफू केन्द्रीय सदस्यको मात्र चुनाव लड्ने बताएका छन्।
ज्ञवाली १०औँ महाधिवेशनकै बेला महासचिव पदका लागि तयारी अवस्थामा रहे पनि अन्ततः उपमहासचिवमै सीमित भएका थिए। ११औँ महाधिवेशनमार्फत महासचिव बन्ने लक्ष्यसहित सक्रिय रहेका उनीमाथि अहिले उपाध्यक्ष पदतर्फ जान सुझाव दिइएको स्रोतको भनाइ छ। तर ज्ञवालीको प्राथमिकता महासचिव पद नै रहेको बताइन्छ।
एमाले विधानअनुसार पार्टीमा एक जना मात्र महासचिव रहने व्यवस्था छ। महासचिव अध्यक्षपछिको दोस्रो कार्यकारी पदका रूपमा संगठन सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पद हो। यही कारण महासचिव पदलाई लिएर पार्टीभित्र चासो र प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया