काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई समयानुकूल आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनु अपरिहार्य रहेको बताएका छन्।
सोमबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खरेलले बदलिँदो प्रविधि र सेवा प्रणालीअनुसार हुलाकलाई नयाँ कार्ययोजनासहित अगाडि बढाउनुपर्नेमा जोड दिए। हुलाक सेवालाई राज्यको भार नभई आम्दानी गर्न सक्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री खरेलले आगामी पाँच वर्षभित्र हुलाक सेवालाई राज्य र नागरिक दुवैका लागि ठोस योगदान दिन सक्ने अवस्थामा पुर्याउने लक्ष्यसहित कार्यान्वयनमुखी योजना आवश्यक रहेको बताए। साथै, हुलाक सेवालाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनेतर्फ ध्यान दिन निर्देशन दिए।
उनले ‘स्मार्ट हुलाक’ कार्यक्रमलाई प्राथमिकतामा राखी तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
यसै अवसरमा सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाक कार्यान्वयनका लागि नीतिगत तथा संरचनागत सुधार प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। उनका अनुसार स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पेश भइसकेको छ र छिट्टै कार्यान्वयनमा जानेछ। चालु आर्थिक वर्षमा ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्न बजेट व्यवस्था गरिएको पनि उनले बताइन्।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया