काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

निर्वाचन आयोगसँग आज भएको छलफलमा उनले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताए ।

advertisement

मन्त्री खरेलले भने, ‘निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।’

निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उनले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख पारे । ‘निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा छन् । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो’, मन्त्री खरेलले भने ।

सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उनले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिए ।

मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पुर्याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।

गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोहीअनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए-नभएको अनुगमन गरिने बताए ।

 

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com