काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्।

झापाको झापा गाउँपालिका-५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका-२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका-१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका-२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्।

यसैगरी, भजनी नगरपालिका-३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ।

लमजुङको बेँसीसहर नगरपालिका-१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०÷१० एम्पुलसहित बेँसीसहर नगरपालिका-८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन्।

सुनसरीको कोशी गाउँपालिका-१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका-३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका-३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका-९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन्।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com