काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि सम्पन्न मिनी अक्सनमा कोलकता नाइट राइडर्सले दुई खेलाडीका लागि अत्यन्तै महँगो बोली लगाएको छ। कोलकताले यी दुई खेलाडी किन्न मात्रै कुल ६९ करोड १२ लाख नेपाली रुपैयाँ (४३ करोड २० लाख भारतीय रुपैयाँ) खर्च गरेको हो।
कोलकताले अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई २५.२० करोड भारतीय रुपैयाँ (करिब २.८ मिलियन अमेरिकी डलर) मा अनुबन्ध गरेको छ। यससँगै ग्रीन यो सिजनका सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनी मध्यम गतिका बलर हुनुका साथै जुनसुकै स्थानमा ब्याटिङ गर्न सक्ने क्षमताका खेलाडी हुन्।
क्यामरन ग्रीन आइपिएल इतिहासकै सबैभन्दा महँगा गैर–भारतीय खेलाडीसमेत बनेका छन्। उनी आइपिएलका सबैभन्दा महँगा खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्। यस सूचीमा ऋषभ पन्त (२७ करोड भारतीय रुपैयाँ) पहिलो र श्रेयस अय्यर (२६.७५ करोड भारतीय रुपैयाँ) दोस्रो स्थानमा रहेका छन्।
त्यस्तै, कोलकताले श्रीलंकाका तीव्र गतिका बलर माथीशा पाथिरानालाई पनि टोलीमा भित्र्याएको छ। पाथिरानालाई १८ करोड भारतीय रुपैयाँ (करिब १.९७ मिलियन अमेरिकी डलर) मा किनेको हो।
यी दुई खेलाडीका लागि मात्रै कोलकता नाइट राइडर्सले झन्डै ६९ करोड नेपाली रुपैयाँ खर्च गरेको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया