काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनै लागेको छ। प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन्।
अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।
मतदान स्थलमा प्रवेश गर्नुअघि दुवै समूहले आफ्ना पक्षका उम्मेदवारहरूको ‘प्यानल लिस्ट’ प्रतिनिधिलाई बाँडेका छन्।
प्रतिनिधिहरू सोही सूची बोकेर लामबद्ध भइरहँदा अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेल भने मञ्चमा सँगै बसेर कुराकानी गरिरहेका छन्।
महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जना नेताहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा प्यानलगत उम्मेदवारी परेको छ।
सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार मैदानमा छन्।
निर्वाचन आयोगका अनुसार मतदानका लागि २ हजार २ सय ६३ प्रतिनिधि सहभागी हुँदैछन्। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया