सुर्खेत । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (भूगोल) तर्फ कर्णाली प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार कर्णाली प्रदेशबाट खुला, महिला र ४० वर्षमुनिको खुला सबै श्रेणीमा अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
कर्णाली भूगोल (खुला) तर्फ ५ सिटका लागि भएको निर्वाचनमा जितबहादुर मल्ल सर्वाधिक १ हजार ९५६ मतसहित निर्वाचित भए । हाल कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका मल्ल मुगुबाट प्रतिनिधित्व गर्छन् । यसैगरी, विष्णु रिजाल १ हजार ७९० मत ल्याएर विजयी भए । उनी यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए ।
खुला तर्फ नवराज रावतले १ हजार ७४८, दल फडेराले १ हजार ६०९ र डम्बरबहादुर सिंहले १ हजार ५८८ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भए । रावत पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत हुन् ।
खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका कुर्मराज शाही, ठम्मरबहादुर विष्ट र लालबहादुर महतारा पराजित भएका छन् । उनीहरू ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका थिए । कालिकोटका कुर्मराज शाही यसअघि पार्टीभित्रको विवादका कारण चर्चामा आएका नेता हुन् भने ठम्मरबहादुर विष्ट पूर्व माओवादी पृष्ठभूमिका नेता हुन् ।
कर्णाली भूगोल (महिला) तर्फ ३ सिटका लागि भएको निर्वाचनमा मोहनमाया ढकाल (भण्डारी) सर्वाधिक १ हजार ९२३ मतसहित विजयी भइन् । वीरेन्द्रनगर नगरपालिकाकी मेयरसमेत रहेकी ढकाल यसअघि पनि केन्द्रीय सदस्य थिइन् । महिलातर्फ इन्दिरा कुमारी पन्थी (सञ्ज्याल) ले १ हजार ८५२ र मिनासिंह रखालले १ हजार ८१४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भए ।
महिला तर्फ मेनुका पछाई १ हजार ९२ मतसहित पराजित भइन् । टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिएकी थिइन् ।
यसैगरी, कर्णाली भूगोल (४० वर्षमुनि) तर्फ १ सिटका लागि भएको निर्वाचनमा रुद्रबहादुर शाही १ हजार ४१६ मतसहित भारी मतान्तरले विजयी भए । उनका प्रतिस्पर्धी तपेन्द्रबहादुर शाहीले ८११ मत प्राप्त गरे ।
यससँगै एमाले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यका सबै पदमा अध्यक्ष ओली प्यानलको पूर्ण वर्चस्व स्थापित भएको छ ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया