काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनैपर्ने स्पष्ट पारेका छन् । प्रजातन्त्रको मूल आधार निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको उनले बताएका छन् ।
कोइरालाले संविधानको संरक्षण र मुलुकलाई राजनीतिक तथा संवैधानिक संक्रमणबाट जोगाउने एकमात्र उपाय निर्वाचन नै भएको उल्लेख गरे । हामी निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका पैदा भएको छ, उनले भने ।
सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाए । “केही दलका नेतालाई काठमाडौं बाहिर जान नदिने अवस्था छ, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन् । यी सबै विषयमा सरकारले के सोचिरहेको छ?” भन्दै उनले सरकारको तयारीमाथि प्रश्न गरे ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा आयोजित स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले निर्वाचनको तयारीमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया