काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले आफ्नो नेतृत्वमा ‘संयुक्त जेनजी आन्दोलन’ सुरु गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा आन्दोलन थालिने जानकारी दिएका छन्।
ढुंगानाको नेतृत्वमा बनेको समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीमाथि प्रभावकारी कारबाहीका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग अघि सारेको छ। साथै जेनजी आन्दोलनका क्रममा युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, धरपकड रोक्नुपर्ने र मानवअधिकार उल्लङ्घन तथा दमनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने एजेन्डा राखिएको छ।
समूहले हालसम्म राज्यका विभिन्न तह र निकायमा भएका भ्रष्टाचारको स्वतन्त्र छानबिनका लागि शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने माग गरेको छ। साथै गैरआवासीय नेपालीप्रति रहेको संकुचित दृष्टिकोण अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने, उखु किसान, मिटरब्याजपीडित, सहकारी तथा लघुवित्तपीडितका समस्या समाधानका लागि तत्काल छानबिन गर्नुपर्ने माग पनि आन्दोलनको मुख्य एजेन्डामा समेटिएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया