कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न सुझाव दिएका छन्।
उनले निर्वाचनको विषय अझै संशयमा भन्दै दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने धारणा राखे। आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको समेत दाबी गरे।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेकोमा जोड दिए। उनले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रासमा रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा राखे।
उनले भने, ‘यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरू एक प्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधामा हुनुहुन्छ यस्तो अन्यौल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सकला?’
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया