काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन हप्ता बितिसक्दा पनि प्रहरीले मुख्य दोषीको पहिचान गर्न सकेको छैन। दोषी पत्ता नलागेपछि पीडित परिवार र स्थानीयबासिन्दामा आक्रोश बढिरहेको छ।
मङ्सिर २२ मा अविनाको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो। घटनापछि मुख्य अभियुक्त अझै पक्राउ परेका छैनन्।
मृतककी आमा दयावती दनुवारले छोरीको हत्या पछि दोषी नसमातिएकोमा आफूहरू थप अन्यायमा परेको गुनासो गरिन्। उनले भनिन्, “छोरी गुमाएको पीडा त छँदैछ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ। पहुँच भएका व्यक्तिहरूको कुरा तुरुन्तै सुन्छन्, हामीजस्ता आमाको आवाज सुन्ने कोही छैन।”
प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन हप्ता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो। दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।”
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले भने, “घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ। प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास जारी छ।”
यस विषयमा स्थानीयहरूले दोषी पक्राउको माग गर्दै आन्दोलनसमेत गरेका थिए।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












प्रतिक्रिया