काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल तथा ‘जेन्जी’ का प्रतिनिधिहरूसँग छलफल गर्दै आफू दलीय राजनीतिमा प्रवेश गरेको बताएका छन्।
यस क्रममा बालेनले आफ्नै पार्टी सञ्चालन गर्ने कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालसँग सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए। तर ती दलहरूसँगको वार्ता सकारात्मक नहुँदा बालेनले आफ्नै पार्टी स्थापना गर्ने निष्कर्ष निकालेका छन्।
सोहीअनुसार उनले पार्टी कार्यालयसमेत स्थापना गरिसकेका छन्। बालेनको संरक्षणमा ‘लौरो’ चुनाव चिन्हसहित निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेको छ। पार्टीको नाम ‘देश विकास पार्टी’ राखिएको छ।
उल्लेखनीय छ, गत स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिँदा बालेनले ‘लौरो’ नै चुनाव चिन्ह प्रयोग गरेका थिए।
ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय स्थापना गरिएको छ। बिहीबार दिनभर बालेन आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा बसेर छलफलमा व्यस्त थिए भने उनका निकटका केही व्यक्तिहरू पार्टी कार्यालयको सजावट र तयारीमा जुटिरहेका थिए।
‘ज्वागलमा पहिल्यैदेखि पूर्वतयारी गरिएको थियो। सोहीअनुसार यो घर खोजिएको हो,’ बालेननिकट स्रोतले भन्यो, ‘अब सबै गतिविधि यहीँबाट सञ्चालन हुन्छ। अफिस सेटअपको काम सुरु भइसकेको छ।’
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया