काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राजनीतिक संकटको संवेदनशील मोडमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अलग देखिनु परिवर्तनको अपेक्षा राखेका आम नागरिकका लागि दुःखद भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबीच आइतबार भएको वार्ता असफल भएपछि गुरुङले यस्तो टिप्पणी गरेका हुन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गुरुङले यस अवस्थालाई अवसर नभई गम्भीर परिस्थिति भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “यस्तो निर्णायक समयमा सबै प्रमुख शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने अपेक्षा गरिएको थियो। तर यही घडीमा पनि कुलमान घिसिङ अलग देखिनु दुःखद विषय हो। उहाँ अलग पारिनुभएको हो कि आफैं अलग रहन खोज्नुभएको हो, त्यो कुरा समयले स्पष्ट गर्नेछ।”
उनले सरोकारवाला पक्षहरूलाई विभाजन नगर्न आग्रह गर्दै अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न अनुरोध गरेका छन्। देशलाई विभाजन होइन, एकताको आवश्यकता रहेको उल्लेख गर्दै उनले बाँकी रहेका शक्तिहरूलाई साँच्चिकै एकताबद्ध गर्न चाहिएको हो कि भ्रम सिर्जना गरिँदैछ भन्ने प्रश्न पनि उठाएका छन्।
यसअघि आइतबार मध्यरातसम्म तीन पक्षबीच वार्ता भए पनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन बनेको थियो। सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार बिहान १० बजेसम्म सहमति जुटाउने लक्ष्यसहित पुनः बैठक बस्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया