काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको विषयमा चर्चा गर्नु उपयुक्त नभएको बताएका छन्।
उनका अनुसार पार्टी केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकाल्दै नियमित १५औँ महाधिवेशनको मिति सार्वजनिक गरिसकेको छ। साथै, पार्टीले नियमित १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी आफ्नो कार्यतालिका पनि पारित गरिसकेको उनले बताए।
नेता सिटौलाले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुने निर्णय भइसकेको उल्लेख गर्दै निर्वाचनका लागि पार्टीका सबै नेता–कार्यकर्तालाई परिचालित र संगठित हुन आह्वान गरिएको जानकारी दिए। त्यसैले अब विशेष महाधिवेशनको बहस गर्नु उपयुक्त नहुने उनको धारणा छ।
उनले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गर्दै एकतावद्ध रूपमा जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए। पार्टीले आगामी दिनमा आम जनताको हित र राष्ट्रका लागि कस्ता योजना तथा नीतिहरू ल्याउने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने र अब पार्टी निर्वाचनतर्फ अग्रसर हुनुपर्ने उनले बताए।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार













प्रतिक्रिया