काठमाडौं। जेन–जी अभियानकी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको शैली पछ्याएर यथास्थितिवादमा नफस्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आदरणीय कांग्रेसीजन’ शीर्षकमा खुला पत्र लेख्दै उनले कांग्रेसभित्र चलिरहेको महाधिवेशनसम्बन्धी बहसप्रति कडा धारणा सार्वजनिक गरेकी हुन्।
बमले नियमित महाधिवेशनको पक्षमा उभिनु भनेको पछिल्ला आन्दोलन, असन्तोष र परिवर्तनको चाहनालाई अस्वीकार गर्नु सरह भएको बताएकी छन्। उनका अनुसार नेपाली राजनीतिमा भदौ २३ गतेदेखि नै ‘नियमिततामा ब्रेक’ लागिसकेको छ र अब पुरानै ढाँचामा अघि बढ्नु समयसापेक्ष होइन।
उनले कांग्रेस नेतृत्व सहभागी रहेको तत्कालीन सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटनालाई स्मरण गर्दै राजनीति अब सामान्य अवस्थामा नरहेको उल्लेख गरेकी छन्। भदौ २३ को घटना लामो समयदेखि जम्मा हुँदै आएको राज्यको बेथिति, अकर्मण्यता र जननिराशाको विस्फोट भएको र त्यसको जिम्मेवारीबाट कांग्रेस उम्कन नसक्ने उनको आरोप छ।
कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने विवाद चर्किरहेको सन्दर्भमा बमले विशेष महाधिवेशनको स्पष्ट वकालत गरेकी छन्। नियमित महाधिवेशनको रटान गर्नु आन्दोलनको मर्म र जनभावनालाई अस्वीकार गर्नु भएको उनको निष्कर्ष छ। पार्टीभित्रकै युवा पुस्ताले परिवर्तनको माग गर्दा नेतृत्वले उनीहरूको आवाज दबाउन खोजेको आरोपसमेत उनले लगाएकी छन्।
परिवर्तनका लागि आवाज उठाउँदा युवाहरू मारिनु र घाइते हुनुपरेको अवस्थालाई बेवास्ता गर्दै यथास्थितिवाद अपनाइए देश ‘मास डिप्रेसन’ तर्फ धकेलिने खतरा रहेको उनको चेतावनी छ।
बमले एमालेले विधानको मर्म मिच्दै पुरानै नेतृत्वलाई दोहोर्याएर निराशा बाँड्ने बाटो रोजिसकेको टिप्पणी गर्दै कांग्रेसलाई त्यसैको नक्कल नगर्न सचेत गराएकी छन्। उनले कांग्रेस नेतृत्वसमक्ष प्रश्न उठाउँदै एमालेकै बाटोमा लागेर युवा पुस्तालाई धोका दिने कि देशको भविष्य निर्माण गर्ने बगैंचामा लगानी गर्ने भन्ने निर्णय गर्नुपर्ने बताएकी छन्।
असाधारण राजनीतिक संकटको सामना गर्न असाधारण निर्णय आवश्यक पर्ने भन्दै उनले कांग्रेसका लागि विशेष महाधिवेशन अब विकल्प नभई अपरिहार्यता बनेको दाबी गरेकी छन्।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया