काठमाडौं । सल्यानमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दिउँसो करिब ३ः१५ बजे धनसरी घाँस–दाउरा काट्न जंगल गएको समयमा बाघले आक्रमण गरी लगेको सूचना स्थानीयवासीले फोनमार्फत प्रहरी चौकी घुँइयाबारीमा दिएका थिए।
सूचना प्राप्त भएपछि करिब ३ः३० बजे प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलतर्फ खोजीमा खटिएको थियो।
खोजीका क्रममा साँझ करिब ५ बजे घरदेखि करिब पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा धनसरीको शव फेला परेको प्रहरीले जनाएको छ। शवको बाँया खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो।
परिवारका अनुसार धनसरी बिहान करिब ८ बजे घाँस–दाउरा काट्न हरियाली सामुदायिक वनतर्फ गएको थिइन्।
घटनापछि शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार













प्रतिक्रिया