काठमाडौँ । विभाजनको चरणमा पुगेको नेपाली कांग्रेसको समस्या समाधानका लागि नेताहरूबीच सघन छलफल जारी छ।

हिजो दिनभर र आज बिहानदेखि दुवै पक्षका दोस्रो तहका नेताबीच संवाद भइरहेको छ। तर, अहिलेसम्म कुनै ठोस सहमति भएको छैन। एक नेताले भने, “संवादहीनताको अवस्था त छैन, तर निकास पनि निस्किएको छैन।”

advertisement

संस्थापन पक्ष विशेष महाधिवेशन स्थगित भएपछि मात्र थप छलफलमा जाने अडानमा रहेको छ भने, अर्काे पक्षको बटमलाइन विशेष महाधिवेशन नै भएको कारण दुई पक्षबीच टसमस नभएको नेताहरूको भनाइ छ।

यसैबीच शुक्रबार साँझ गुरु घिमिरे, देवराज चालिसे लगायतले शेखर कोइरालासँग छलफल गरेका छन्। शेखरले सभापति शेरबहादुर देउवालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरिसकेका छन्।

त्यसै समयमा, पुसको दोस्रो सातातिर विशेष महाधिवेशनको आव्हानका लागि केन्द्रीय समितिलाई निर्वाचन आयोगमा निवेदन दिइएको खुलेको छ। विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ। यसक्रममा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर भइसकेकाले आवश्यक प्रक्रिया अघि बढाउन निवेदन पेश गरिएको हो।

संस्थापन पक्षले यस कदमलाई विभाजन प्रयासको रूपमा लिएको छ। आयोगले भने कांग्रेसभित्र बढिरहेको विवादलाई नजिकबाट नियालिरहेको बताएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार प्रेस ब्रिफिङमा भने, “यो कांग्रेसको आन्तरिक विषय हो। राजनीतिक दलभित्रको लोकतन्त्रको विषय भएकाले आयोगले अहिलेसम्म हस्तक्षेप गरेको छैन। हामी केवल नजिकबाट नियाल्ने जिम्मेवारी निर्वाह गर्दैछौँ।”

भृकुटीमण्डपमा पुस २७–२८ गते तय गरिएको विशेष महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउँदैछन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका प्रतिनिधिहरूले ५ सय बढी प्रतिनिधि जुटाउने दाबी गर्दै तीव्र तयारी गरिरहेका छन्।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com