काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।
रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रलाई एकताबद्ध गर्दै सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता रहेको बताए। आवश्यक परे राष्ट्र र जनताको हितमा नयाँ आन्दोलन अघि बढाउन सकिने उनको भनाइ थियो।
प्रचण्डले नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै भदौ २४ गतेजस्ता विध्वंसात्मक घटनामा संलग्न देशी–विदेशी प्रतिक्रियावादी चलखेल अझै पूर्ण रूपमा रोकिएको छैन भने। त्यस्ता गतिविधिको प्रतिवादका लागि नयाँ शक्ति निर्माण आवश्यक रहेको उनले बताए।
राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले आफूले नेकपा निर्माण गरेको उल्लेख गर्दै उनले देशको स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गरे। देश अब पूर्ण रूपमा चुनावमय भइसकेको पनि उनले बताए।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया