काठमाडौं। नेपाली कांग्रेसका सभापति र भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा चुनावी अभियानका लागि सोमबार सर्लाही पुगेका छन्। बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थल ओर्लिएका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड जुटेको थियो।
सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थापाले केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएका छन्। सर्लाही जानुअघि जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, “म मधेस जाँदै छु, किनकी म देश जोड्न चाहन्छु।”
थापाले आफू एक क्षेत्रको मात्रै नभई सिंगो नेपालका लागि काम गर्ने विश्वास रहेको बताए। यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट तीन पटक चुनाव जितिसकेका नेता थापाले सो क्षेत्रलाई पनि मनमा राख्ने बताएको छ।
सभापति थापाको स्वागतका लागि बारा, रौतहट, पर्सा र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। फूलमाला, अबिर र नाराबाजीसहित गरिएको स्वागतले मधेसमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षण प्रष्ट पारेको देखियो।
सर्लाही–४ बाट उम्मेदवारी दर्ता भए पनि मनोनयनका दिन कार्यव्यस्तताका कारण थापा उपस्थित हुन सकेका थिएनन्। आज पहिलोपटक प्रत्यक्ष रूपमा मतदाता र कार्यकर्तासँग भेटघाट गर्दै उनी सडकमार्गबाट सर्लाही पुग्ने कार्यक्रममा छन्।
नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको देखिन्छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया