काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तुवाँलो लागेको छ। देशका हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा चट्याङको सम्भावना समेत रहेको छ ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया