सुर्खेत ।  कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन्। कर्णाली प्रदेश अस्पताल, सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका बालबालिका नसर्ने रोगको उपचारका लागि अस्पताल आउने क्रम बढेको छ।

अस्पतालका अनुसार २० वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसम्बन्धी उपचाररत छन्। तीमध्ये साइकोसिस र अटिजमलगायत समस्या भएका बालबालिका बढी देखिएका छन्। कम उमेरमै मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताको विषय बनेको छ।

advertisement

अस्पतालको तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन्। अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव तथा डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढाएको जनाइएको छ।

समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र मानसिक स्वास्थ्यमा परिवार तथा विद्यालयबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। सन्तुलित जीवनशैली र खानपान समस्या समाधानका प्रभावकारी उपायका रूपमा उल्लेख गरिएको छ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकका लागि औषधि उपचारमा १८० जनालाई सिफारिस गरिएको तथ्याङ्क छ। बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालद्वारा आयोजित सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगविरुद्ध सचेतना अभियान सञ्चालन गर्न सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा सहभागीहरूले बालबालिकामा देखिँदै गएको नसर्ने रोग स्वास्थ्यसँग मात्र नभई शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको विषय भएको बताएका छन्। कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि यससम्बन्धी नीतिगत व्यवस्था गरी प्रदेशभर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com