काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै राणा शासनविरुद्ध संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदान सम्झिएका छन्। उनले उल्लेख गरे कि तत्कालीन राज्यले उनीहरूलाई क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको छ र शहीदहरूको सपना अझै पूरा भएको छैन।

शाहका अनुसार, शहीदहरूको बलिदानपछि दश वर्षमै राणा शासनको अन्त्य भए पनि राज्य अझै जनताको भएको छैन, र यही यथार्थले नेपाली जनतालाई निरन्तर संघर्षमा राखेको छ। ८५ वर्षको अवधिमा राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भए पनि सत्ताको चरित्र अपरिवर्तित रहेको उनले बताए।

advertisement

पछिल्ला वर्षहरूमा पनि नेपाली जनता शहीद हुन बाध्य भएको स्मरण गर्दै शाहले भदौमा भएको जेनजी आन्दोलनमा युवा तथा विद्यार्थीहरूले सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा अमूल्य जीवनको बलिदान दिनु परेको घटनाप्रति दुःख व्यक्त गरे।

उनले वर्तमान पुस्ता शहीदका सपना पूरा गर्न अघि बढिरहेको दाबी गर्दै भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्नु र नेपालको आर्थिक उन्नति सुनिश्चित गर्नु सबैको दायित्व भएको बताए। साथै, राज्यका निकायमा व्याप्त चरम दलीयकरण अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ।

शाहले भने, “शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन। अब समय आएको छ—शहीदका रगतलाई सम्मान गर्दै उनीहरूले देखेको सपना पूरा गर्ने।”

उनी सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि सबैलाई मन, वचन र कर्मले प्रतिबद्ध हुन आह्वान गर्दै यस शहीद दिवसलाई ज्ञात तथा अज्ञात सबै शहीदहरूको स्मरण गर्दै बलिदानलाई सार्थक बनाउने अवसरको रूपमा लिनुपर्ने बताए। सन्देशको अन्त्यमा उनले “फेरि कसैले शहीद बन्नु नपरोस्” भन्ने कामनासहित सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com