काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सहिदहरूले देखेका सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताएका छन्।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गरेका छन्।
प्रचण्डले सन्देशमा सामन्ती राणा शासनविरुद्ध संघर्ष गर्ने लखन थापा, बाँकाबीर र चार सहिद—शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल—देखि पञ्चायती शासनविरुद्धको आन्दोलन, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनसम्मको योगदान स्मरण गरेका छन्। साथै, पछिल्लो समयका जेन–जी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत उनले उच्च सम्मानका साथ उल्लेख गरेका छन्।
उनका अनुसार यी सबै संघर्षहरूको साझा उद्देश्य सामन्तवाद र विभेदको अन्त्य गर्दै लोकतन्त्र, सुशासन र सामाजिक न्याय स्थापना गर्नु रहेको छ। मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धि सहिदहरूको बलिदानकै परिणाम भएको उनले बताए।
तर सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै अधुरो रहेको उल्लेख गर्दै प्रचण्डले सहिदका सपना पूर्ण रूपमा पूरा भइनसकेको धारणा व्यक्त गरे। ती अधुरा सपना पूरा गर्न इमानदार रूपमा समर्पित हुन सके मात्र सहिद दिवस मनाउनुको सार्थकता रहने उनको भनाइ छ।
प्रचण्डले सहिद दिवसलाई आत्मसमीक्षा गर्ने, विचलित नभई जनताको पक्षमा दृढतापूर्वक उभिने संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताए। साथै, प्राप्त उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्न सबैलाई उनले अपिल गरेका छन्।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया