काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुट बोलेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले आफूहरू एकतामा नआएको भनेर प्रचण्डले दिएको अभिव्यक्ति सत्य नभएको दाबी गरे। उनले प्रचण्डले गरेको एकता र ध्रुवीकरणको आह्वान क्रान्तिकारी मर्म र भावनाबाट विचलित रहेको आरोपसमेत लगाए।
विप्लव एकतामा आएन भन्ने हल्ला झुटो हो, उनले भने, प्रचण्डले गरेको एकता र ध्रुवीकरणको आह्वान क्रान्तिकारी भावना र मर्मबाट भागेको छ। त्यो न त पार्टीजस्तो छ, न त मोर्चाजत्तिको। २५ सय वा तीन हजार केन्द्रीय समिति बनाउनु कम्युनिस्ट आन्दोलनको हुर्मत लिनु हो, त्यो बेइज्जती र बदनाम गर्ने काम हो।
महासचिव विप्लवले मानिसको संख्या धेरै हुँदैमा कम्युनिस्ट पार्टी सही नहुने तर्क गर्दै लोभ–लालच देखाएर भीड जुटाउने प्रवृत्तिप्रति आलोचना गरे। उनले जनतालाई घुइँचो लगाएर मान्ने पक्षमा नरहेको स्पष्ट पारे।
आफैंले विकास गरेका विचार र स्थापित गरेको इतिहासमा टिक्न नसक्दा नेकपामा “कुरूप चित्र” देखिएको आरोप लगाउँदै विप्लवले वर्तमान अवस्थामा प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जनतर्फ लैजाने बाटोमा लागेको दाबी गरे।
महासचिव विप्लवले आफूहरू सच्चा र सुदृढ एकताको पक्षमा रहेको उल्लेख गर्दै भने, हामी साँच्चै एकता चाहन्छौँ, तर लिच्चड खालको एकतामाथि कुनै विश्वास हुँदैन।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया