काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पीएस गुरुङले पुराना राजनीतिक दलहरू असान्दर्भिक नभएको दाबी गरेका छन् । उनले जनताले नयाँ अनुहारभन्दा पनि सुधारिएका पार्टी, स्पष्ट भिजन र नीतिसहितका नेतृत्व खोजिरहेको बताएका छन् ।

प्रेस चौतारीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले चुनावी वातावरणमा ‘नयाँ’ भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै प्रश्न गरे, ‘नयाँ भनेको अनुहारमा हो कि विचारमा हो ?’ उनका अनुसार जनताको अपेक्षा अनुहार परिवर्तन होइन, पार्टी र नीतिमा सुधार हो ।

advertisement

उनले भने, ‘जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन् । परिष्कृत भिजन, नीति र कार्यक्रमसहित अघि बढ्न सक्ने पार्टी र नेता खोजेका छन् ।’

उपाध्यक्ष गुरुङले अहिले नेपालको संविधान र विद्यमान राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको आरोप पनि लगाए । स्वाधीन नेपालको पक्षमा दृढतापूर्वक उभिएको कारण एमालेमाथि सबैभन्दा बढी आक्रमण भइरहेको उनको दाबी थियो ।

उनले एमालेसँग शासन सञ्चालनका लागि आवश्यक अनुभव, परिपक्वता र ठोस नीति रहेको उल्लेख गर्दै भने, ‘मुलुक चलाउन सक्ने हिम्मत, अठोट र स्पष्ट भिजन बोकेको पार्टी एमाले हो ।’

गुरुङले नेपाली कांग्रेसमा सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आए पनि त्यसअनुसार नयाँ भिजन, नीति र कार्यक्रम देखिन नसकेको टिप्पणी गरे ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह दुई जना जनतासँग प्रत्यक्ष सामना गर्नसमेत नसक्ने आरोप लगाए । उनले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भइरहेको भन्दै पार्टीपंक्तिलाई सजग रहन आग्रह गरे ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com