काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने प्रयास, त्यससँग जोडिएका दबाब र धम्की आफूहरूले स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट परिरहेको सन्दर्भमा उनले भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको स्मरण गराएका छन्। यसै विषयलाई लक्षित गर्दै सभापति लामिछानेले  फेसबुकमार्फत कडा सन्देश दिएका हुन्।

advertisement

उनले लेखेका छन्, “मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्न बाँकी छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जससँग गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाएर यो सुनामी रोकेर देखाऊ। हामी मत परिणाम स्वीकार्छौं, तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं।”

आ–आफ्नो राजनीतिक ‘दोकान’ र ‘सटर’ रंग्याउने छुट सबैलाई भए पनि यो देश कुनै अमुक नेताले होइन, जनताले जोगाएको उनले उल्लेख गरेका छन्। “तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै विकास, कूटनीति र अर्थ–राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौं,” उनले भनेका छन्।

लामिछानेले देशलाई “गिद्धले सिनो लुछेजस्तै लुछिएको” अवस्था भएको टिप्पणी गर्दै अब अन्तिम सुनामीको तयारीमा रहेको दाबी गरेका छन्। साथै, “फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको एउटा महत्वपूर्ण माइलस्टोन हुनेछ,” भन्ने उनको भनाइ छ।

फागुन २१ पछि आउने संसदमा प्रतिपक्षीसमेत नयाँ हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, “सर्प एउटा पनि पाल्न सकिँदैन। यतिका वर्ष देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ।”

उनले केही बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको देशको भविष्य लेख्ने जिम्मेवारी जनताको हातमा सुम्पिएको भन्दै मतदातालाई निर्णायक भूमिका निर्वाह गर्न आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com