काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले मुद्दाप्रति बेवास्ता गरिरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले निर्वाचित सरकारलाई जबर्जस्ती हटाएर बनेको असंवैधानिक सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको बताए।
ओलीले संविधानको सीमाबाहिर बनेको सरकार सच्याउन अदालत पुगे पनि रिटमाथि सुनुवाइ हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। “न्यायको निरुपण अदालतबाट नै हुनुपर्छ, त्यसैले हामी अदालत गयौं,” उनले भने, “तर अदालत कानमा तेल हालेर बसेको छ।”
प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले कानुनी उपचार खोज्ने निर्णय गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। तर अदालतले फागुन २१ अघि रिटमाथि सुनुवाइ हुन नसक्ने संकेत दिएपछि पार्टीका नेताहरू असन्तुष्ट बनेका छन्।
यसैबीच, एमाले सचिव महेश बस्नेतले पनि राजधानीमा आयोजित एक कार्यक्रममा न्यायाधीशहरू बिरामी पर्न थालेको र मोबाइल स्वीच अफ गर्न थालेको टिप्पणी गरेका थिए। अर्का सचिव डा. राजन भट्टराईले समेत फागुन २१ अघि नै संसद् पुनःस्थापनासम्बन्धी रिटमाथि सुनुवाइ हुनुपर्ने धारणा राखेका छन्।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया