काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन आज बिहान पोखरा आइपुगेका छन्।
कांग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी भएपछि सभापति थापाले पार्टीका जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेस पोखराका क्षेत्रीय सचिव ठाकुर बरालले जानकारी दिए।
सभापति थापालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा पहिलो पटक पोखरा आएका हुन्। कांग्रेस कास्कीका अनुसार उनले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा पार्टीको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
गण्डकी प्रदेशमा ११ वटा जिल्लामा फैलिएका १८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचनमा केन्द्रित गराउने तथा पार्टीको नीति र नेतृत्वमा आएको परिवर्तन मतदातासमक्ष पुर्याउने रणनीति बनाउन प्रदेश बैठक बस्न लागेको बताए।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया