एजेन्सी। पाकिस्तानको राजधानी इस्लामवादस्थित एक शिया इमामबारगाहमा शुक्रबार भएको शक्तिशाली बम विस्फोटको विश्वभरबाट कडा निन्दा भएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिवदेखि विभिन्न देशका प्रधानमन्त्री र विदेश मन्त्रीहरूले घटनालाई आतङ्ककारी तथा अमानवीय कार्यको संज्ञा दिँदै पीडितप्रति समवेदना व्यक्त गरेका छन्।
उक्त विस्फोटमा ३० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने १७० भन्दा बढी मानिस घाइते भएका छन्। पूजाका लागि भेला भएका सर्वसाधारणलाई लक्षित गर्दै गरिएको आक्रमणले पाकिस्तानसहित अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै इस्लामवादस्थित मस्जिदमा पूजा गरिरहेका नागरिकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले भनेका छन्, “नागरिक र धार्मिक स्थलहरूलाई लक्षित गरी गरिने आक्रमण पूर्ण रूपमा अस्वीकार्य छन्। यस घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी तुरुन्त न्यायको दायरामा ल्याइनुपर्छ।”
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले जारी गरेको वक्तव्यमा इस्लामवाद नजिकैको मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु र १५० भन्दा बढी घाइते भएको उल्लेख गर्दै पीडित, घाइते तथा उनीहरूका परिवारप्रति क्यानडाको तर्फबाट समवेदना प्रकट गरेका छन्।
बेलायतकी विदेश मन्त्री यभेट कूपरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडितहरू र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाएकी छन्। उनले लेखेकी छन्, “बेलायत आतङ्कवादविरुद्धको लडाइँमा पाकिस्तानको साथमा उभिएको छ र यस्तो अर्थहीन हिंसाबाट प्रभावित सबै समुदायहरूको समर्थन गर्दछ।”
अजरबैजानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी हिंसा र आतङ्कवादको यो जघन्य कार्यको घोर निन्दा गर्छौं। अजरबैजान शान्ति, स्थिरता र सबै प्रकारका आतङ्कवादविरुद्धको लडाइँमा पाकिस्तानको साथमा दृढ रूपमा उभिएको छ।”
जर्मनीका विदेश मन्त्री जोहान वाडेफुलले पनि विस्फोटको खबरले आफू दुःखी भएको जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “इस्लामवादको मस्जिदमा भएको भयानक आत्मघाती बम विस्फोटको समाचार सुन्दा गहिरो पीडा भयो। पीडित र उनीहरूका परिवारप्रति मेरो समवेदना छ। यो कठिन समयमा जर्मनी पाकिस्तानको साथमा छ।”
यसैबीच, भारतीय विदेश मन्त्रालयले पनि औपचारिक विज्ञप्ति जारी गर्दै इस्लामवादमा भएको बम विस्फोटको निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “मस्जिदमा भएको बम विस्फोट निन्दनीय छ। भारत यस दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ।”
घटनापछि पाकिस्तानमा सुरक्षा सतर्कता बढाइएको छ भने दोषी पहिचानका लागि अनुसन्धान तीव्र पारिएको बताइएको छ। विश्व समुदायले यस्ता हिंसात्मक गतिविधिको अन्त्यका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया