एजेन्सी। जापानमा आइतबार तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का लागि आम निर्वाचनको मतदान जारी छ। देशका विभिन्न भागमा भारी हिमपातका बीच मतदाता मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्।

यस निर्वाचनलाई प्रधानमन्त्री सनाए ताकाइचीको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ। पार्टी नेतृत्व सम्हालेपछि जनादेश लिन भन्दै उनले मध्यहिउँदको समयमा आकस्मिक निर्वाचनको घोषणा गरेकी थिइन्। जापानमा यस्तो कठोर मौसममा आम निर्वाचन भएको यो ३६ वर्षपछि पहिलो पटक हो।

advertisement

मतसर्वेक्षणअनुसार ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र पपुलिस्ट जापानी इनोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० सिट जित्ने अनुमान गरिएको छ। भ्रष्टाचार काण्ड र बढ्दो महँगीका कारण अघिल्लो बहुमत गुमाएको एलडीपीका लागि यसलाई ठूलो राजनीतिक पुनरागमनका रूपमा हेरिएको छ।

कर कटौती र अनुदान कार्यक्रमको वाचा गर्दै ताकाइची पछिल्ला महिनामा लोकप्रिय बनेकी छन्। यद्यपि आलोचकहरूले उच्च सार्वजनिक ऋणको अवस्थाबीच थप सरकारी खर्चले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा मजबुत बनाउनेमा शंका व्यक्त गरेका छन्।

हिमपातका कारण जापानका उत्तरी तथा पूर्वी क्षेत्रहरूमा मतदान प्रभावित भएको जनाइएको छ। ‘जापानकी आइरन लेडी’ बन्ने आकांक्षा राख्ने ताकाइची स्वर्गीय प्रधानमन्त्री सिन्जो आबेको नजिक सहयोगी मानिन्छिन्। उनी कडा सुरक्षा नीति र राष्ट्रवादी धारणा समर्थकका रूपमा परिचित छिन्।

परम्परागत पारिवारिक मूल्य मान्यतामा विश्वास राखे पनि ताकाइची १८ देखि ३० वर्ष उमेर समूहका युवामाझ निकै लोकप्रिय छिन्। पछिल्ला सर्वेक्षणअनुसार अक्टोबरयता उनको अनुमोदन दर करिब ७० प्रतिशतभन्दा माथि रहेको छ। सामाजिक सञ्जालमा उनका २६ लाखभन्दा बढी फलोअर छन् भने उनको चुनावी अभियानसम्बन्धी भिडियो १० दिनमै १० करोडभन्दा बढी पटक हेरिएको जनाइएको छ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com