एजेन्सी । जापानका विभिन्न क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जुन सन् २०१० यताकै सबैभन्दा लामो अवधि हो।
शनिबार मध्य जापानका कम्तीमा ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो। टोकाइ क्षेत्रका शिजुओका, गिफु, मिए र आइची प्रान्त यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
मिए प्रान्तको कुओआना सहरमा ४०.६ डिग्री, गिफुको मिनोमा ४०.८ डिग्री, ताजिमीमा ४०.७ डिग्री, शिजुओकाको हमामात्सुमा ४०.३ डिग्री तथा आइचीको टोयोटामा ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
यस्तै, शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।
अत्यधिक गर्मीका कारण स्वास्थ्य सतर्कता अपनाउन तथा अनावश्यक रूपमा बाहिर ननिस्कन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया