काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई अझ भव्य र व्यवस्थित बनाउन निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मतदान प्रक्रियालाई सहज र सरल बनाउन तथा बदर मतको प्रतिशत घटाउनका लागि आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभर कार्यक्रम सञ्चालन गर्न लागेको हो।

advertisement

देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको घर र बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी दिने कार्यक्रम तय गरिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिए।

आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको छ। सोही व्यक्तिलाई यस पटक मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रूपमा जिम्मेवारी दिइएको छ।

निर्वाचन आयोगको विश्वास छ कि मतदाता शिक्षा कार्यक्रमले मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

यस कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दल, उम्मेदवार र सञ्चार जगतलगायत सबै सरोकारवाला साझेदारलाई आयोगले सहयोग गर्न अनुरोध गरेको छ।

मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउनु रहेको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com