काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीका काम र उपलब्धिको वस्तुनिष्ठ मूल्यांकन आवश्यक रहेको बताइन् । पार्टीबारे फैलाइएका भ्रम, गलत सूचना र अफवाहलाई तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने उनको भनाइ थियो ।
‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनुका साथै तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ,’ उनले भनिन्, ‘पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना तथा अफवाहहरूको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ।’
भण्डारीले विदेशमा रहेका नेपालीहरूको अवस्था, आवश्यकता र समस्या फरक–फरक हुने भएकाले संगठनका गतिविधि सञ्चालन गर्दा उनीहरूका विविध सरोकारलाई समेट्नुपर्ने बताइन् । श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा आबद्ध नेपालीका समस्या र आवश्यकताप्रति संगठन संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।
उनले प्रवासमा रहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, इतिहास र मातृभूमिसँग जोडिराख्नु साझा जिम्मेवारी भएको उल्लेख गरिन् ।
विदेशमा हुर्किएका नयाँ पुस्ताले जहाँ रहे पनि आफ्नो नेपाली पहिचानप्रति गर्व गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउँदै उनले नेपाली भाषा शिक्षण, सांस्कृतिक कार्यक्रम र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया