किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्य गर्न अमेरिकाले मस्कोमाथि थप दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। आगामी हप्ता अमेरिकी मध्यस्थतामा हुने भनिएको शान्ति वार्तामा रूस सहभागी हुने वा नहुने विषय अझै स्पष्ट नभएको उनले उल्लेख गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले युक्रेन वार्तामा सहभागी हुन तयार रहेको पुष्टि गर्दै गत महिनामा सम्पन्न दुई चरणको त्रिपक्षीय वार्ताबाट ठोस उपलब्धि हासिल हुन नसकेको बताएका छन्। उनले वार्ता सफल नहुनुमा युक्रेन मात्र नभई अमेरिकाको पनि जिम्मेवारी रहेको संकेत गर्दै आगामी चरणलाई परिणाममुखी बनाउन रूसमाथि प्रभावकारी दबाब आवश्यक रहेको धारणा व्यक्त गरे।
यसअघि जेलेन्स्कीले अमेरिका आगामी जुन महिनासम्म रूस–युक्रेनबीच चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पक्षमा रहेको बताएका थिए। उनले दीर्घकालीन शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायको समन्वय र सक्रिय भूमिका आवश्यक रहेको दोहोर्याए।
उता, रूसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले युक्रेनी सङ्कट समाधानका लागि कूटनीतिक संवाद जारी रहेको बताए पनि धेरै विषयमा समन्वय र सहमति हुन बाँकी रहेको उल्लेख गरेका छन्।
रूस–युक्रेन युद्धको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेकाबीच आगामी वार्ता निर्णायक हुन सक्ने आकलन गरिएको छ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया