काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाबाहेक अन्य ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा छपाइ कार्य भइरहेको छ। हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। छापिएका मतपत्रमध्ये १५ हजार ३७१ बाकस प्याकिङ भइसकेका छन्। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
पुस २२ गतेबाट सुरु गरिएको छपाइ कार्य तीन दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ। पहिलो चरणमा नमूना मतपत्र छापी पठाइसकिएको र दोस्रो चरणअन्तर्गत ठूलो परिमाणमा मतपत्र छपाइ तथा ढुवानी तयारी भइरहेको आयोगले जनाएको छ। साथै, कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउन सुरु गरिएको जानकारी पनि दिइएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया