काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं झापा–५ का प्रतिनिधि सभा उम्मेदवार केपी शर्मा ओली ले आफ्नो चुनावी रणनीति फेरिएका छन्। यसअघिका निर्वाचनमा विशिष्ट स्थानमा सभा र मतदाता भेटघाट गर्दै विजय हाँसिल गर्ने शैली अपनाउने ओलीले यसपटक प्रत्यक्ष घरदैलो र मतदातासँग संवाद गर्ने नयाँ योजना अघि सारेका छन्।
ओली आफ्नै उपस्थितिमा मतदाताका घर र टोलमा पुगेर उनीहरूको समस्या सुन्ने र टिपोट गर्ने योजना बनाएका छन्। आफू उपस्थित नहुने घरहरूमा पार्टीका निकटका कार्यकर्तालाई खटाएर मतदाताको सुझाव सुन्ने व्यवस्था गरिएको छ।
झापा–५ मा मुख्य प्रतिस्पर्धीको रूपमा बालेन शाह रहेको आकलन गरिएको छ। बालेनको बढ्दो लोकप्रियता र प्रतिस्पर्धी अवस्थालाई मध्यनजर गर्दै ओलीले आफ्नो रणनीति परिमार्जन गरेका हुन्।
प्रतिस्पर्धी शाहले विभिन्न चरणमा मतदातासँग भेटघाट गरी ‘रोड शो’ कार्यक्रम सञ्चालन गरिरहँदा ओलीले घरदैलोमा जोड दिएका छन्। माघ ६ मा उम्मेदवारी दर्ता गरेयता उनी प्रायः झापामै रहेका छन्। माघको अन्तिम साता झापा आएर विभिन्न गाउँ र टोलमा मत माग्दै जनताको समस्या सुनेका ओली आइतबार पुन झापा फर्किएका छन्।
दमक–२ स्थित अस्थायी निवासबाट उनी कार्यकर्ता र नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन्। नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन् र प्रत्येक दिन ६–७ स्थानमा घरदैलो कार्यक्रम हुनेछ।
एमाले झापाका चुनावी कमाण्डर देवेन्द्र दाहाल अनुसार पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र क्षेत्रीय पदाधिकारी तथा सदस्यहरूले घरदैलो र भेटघाटलाई तीव्र बनाएका छन्। जनताबाट आएका सुझाव, गुनासा र समस्याहरूलाई सम्बोधन गर्दै पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ।
झापा–५ का २९ वटा वडाका सबै टोलमा पुगेर मतदातालाई निर्वाचनमा सहभागी गराउन र अध्यक्ष ओलीलाई विजयी गराउन आग्रह गर्ने योजना तय गरिएको छ। नेकपा एमाले भातृसंगठन अखिल नेपाल महिला सङ्घ झापाकी अध्यक्ष लीला ढुङ्गेल दाहाल का अनुसार टोलका घर–घर पुगेर मतदातासँग संवाद गरिएको छ।
सामाजिक सञ्जालमा फैलिएका भ्रम र नकारात्मक प्रचारलाई चुनौती दिँदै कार्यकर्ताले मतदातामा सकारात्मक सोच कायम राख्न सक्रिय रहेका छन्। दमक नगर अध्यक्ष राम पौडेल ले भने, कुनै उच्छृङ्खल गतिविधि वा भ्रामक प्रचारले दुर्घटना नहुने गरी समाजमा सद्भाव र मित्रवत् व्यवहार कायम राख्न आग्रह गरिएको बताए।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया