काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब राज्यले प्रश्न गर्ने युवामाथि गोली चलाउने वा कसैले पनि हिंसात्मक गतिविधि गर्ने अवस्था नआउने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै भविष्यमा त्यस्तो परिस्थिति दोहोरिन नदिने स्पष्ट पारे।
‘अब प्रश्न उठाउने कुनै युवकले राज्यको गोली खानु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने, ‘त्यस्तै, कसैले पनि नकाव लगाएर सिंहदरबार जलाउने दुस्साहस गर्न पाउने छैन। हामी विधि र संवादमार्फत समस्या समाधान गर्ने नेपाल बनाउँछौँ।’
थापाले भदौ २३–२४ मा सडकमा उत्रिएका युवाहरूको भावना र आक्रोशलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए। ‘ती हाम्रै भाइ–भतिजा हुन्। ‘जेन–जी’ कहीँबाट आएको होइन, यही समाजको हिस्सा हो,’ उनले भने, ‘उनीहरूले हामीलाई अस्वीकार गरेका होइनन्, हाम्रो शैली र काम गर्ने तरिका बदल्न आग्रह गरेका हुन्।’
उनले युवाको अपेक्षा सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिभित्रै रहेर परिवर्तनको मार्ग खोजिने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया