काठमाडौं । विश्वप्रकाश शर्माले मुलुक संकटमा परेका बेला आवेग र उत्तेजनाले भन्दा अनुभवी नेतृत्वले मात्र देशलाई सही निकास दिन सक्ने बताएका छन्। नेपाली कांग्रेसका उपसभापति शर्मा जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
जनकपुरधाममा बोल्दै उनले डुङ्गाको उदाहरण दिँदै शान्त अवस्थामा सबैले डुङ्गा चलाउन सजिलो ठान्ने तर आँधी–हुरी चल्दा भने सिक्दै गरेकाले नभई अनुभवी माझीले मात्र किनारा लगाउन सक्ने बताए। अहिलेको राजनीतिक अवस्थालाई पनि उनले यही अवस्थासँग तुलना गरे।
शर्माका अनुसार देश चुनौतीपूर्ण मोडमा रहेकाले स्थिरता र सुशासनका लागि कांग्रेसको भूमिका आवश्यक छ। उनले संसार बदल्नुअघि आफू बदलिनुपर्ने चिन्तनलाई आत्मसात गर्दै कांग्रेसले पार्टीभित्रै रूपान्तरण सुरु गरेको दाबी गरे।
आगामी निर्वाचनपछि बन्ने सरकार पाँच वर्षसम्म एउटै प्रधानमन्त्रीको नेतृत्वमा स्थिर रहनुपर्नेमा उनले जोड दिए। संविधानका आधारभूत सुधारका लागि सबै दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै उनले मतदातालाई आवेग र भ्रममा नपरी विवेकपूर्ण निर्णय लिन आग्रह गरेका छन ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया