काठमाडौं। नेपालमा जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक युगको सुरुवात भएको दिन फागुन ७ लाई राष्ट्रका लागि विशेष ऐतिहासिक महत्वको दिनका रूपमा लिइन्छ। निरंकुश शासनको अन्त्य गरी जनक्रान्तिमार्फत प्रजातन्त्र घोषणा भएको यस गौरवपूर्ण दिनको सम्मानमा प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा रहँदै आएको छ।
प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनका क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा आफ्नो जीवन बलिदान दिएका थिए। उनीहरूको योगदान नेपाली प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण आधार बनेको मानिन्छ।
विसं २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एकीकृत भई बनेको नेपाली काँग्रेसले बिपी कोइरालाको नेतृत्वमा सशस्त्र आन्दोलन सञ्चालन गरेको थियो। सोही आन्दोलनको परिणामस्वरूप विसं २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हो। त्यसपछि राजा त्रिभुवनको घोषणासँगै राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनको सुरुवात भएको थियो।
प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ। साथै, प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ।
समारोहलाई सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
प्रजातन्त्रको जगमा टेकेर नेपालले हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यास गरिरहेको छ, जुन नेपाली जनताको ऐतिहासिक संघर्षको उपलब्धिका रूपमा लिइन्छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया