रौतहट। माधव कुमार नेपाल ले रौतहटको गौर क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सह–संयोजक तथा रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार नेपालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण स्थानीय जनजीवन त्रसित बनेकोमा चिन्ता व्यक्त गरे।
गौरको सबगढा लगायतका क्षेत्रमा देखिएको तनावले सर्वसाधारणको सुरक्षा जोखिममा परेको उल्लेख गर्दै उनले कुनै पनि समुदायका नागरिकको जीवन असुरक्षित हुन नहुने स्पष्ट पारे। “हिन्दु होस् वा मुस्लिम, सबै नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्छ। यस्तो प्रकारको द्वन्द्व कुनै पनि हालतमा स्वीकार्य छैन,” उनले भने।
नेता नेपालले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। गृहमन्त्रीसँग टेलिफोन संवाद गरी आवश्यक परे निषेधाज्ञा (कफ्र्यु) लागू गर्न तथा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गर्न सुझाव दिएको उनले बताए।
यसका साथै जनकपुरस्थित डिआइजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि निरन्तर संवाद भइरहेको उनको भनाइ छ।
कसैको घर–सम्पत्तिमा क्षति नपुगोस् र व्यक्तिगत मर्यादामा आँच नआओस् भन्नेमा प्रशासन सचेत रहनुपर्नेमा जोड दिँदै उनले सबै पक्षलाई घृणा त्यागेर संवाद र सहकार्यबाट समस्या समाधान गर्न अपिल गरेका छन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया