काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं सही विचार र उद्देश्यका लागि मात्रै दृढ रहने व्यक्ति भएको बताएका छन्।
श्रीमती राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८औँ वैवाहिक वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको तीव्र चाहना बोकेको स्मरण गरे।
उनले पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्य गर्ने अठोटका साथ राजनीतिक आन्दोलनमा सक्रिय भएको उल्लेख गर्दै अनेक दुःख, जेल सजाय, यातना र दमन सहेर पनि लक्ष्यबाट पछि नहटेको बताए। ‘जेल परियोस्, हत्कडी लगाइयोस्, यातना दिइयोस् वा भोकै राखियोस्—जे भए पनि पञ्चायत र राजतन्त्र अन्त्य गरेरै छाड्ने संकल्प थियो,’ उनले भने।
अध्यक्ष ओलीले सानो आधारबाट सुरु गरेर एमालेलाई देशको प्रमुख राजनीतिक शक्ति बनाउने अर्को लक्ष्य पनि पूरा गरेको दाबी गरे। नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरिएको तर त्यसलाई सहन नसक्ने शक्तिहरूले पार्टी फुटाएको उनको गुनासो थियो।’कमजोर पार्ने प्रयास भए, त्यसबारे समय आएपछि चर्चा गरौँला,’ उनले संकेत गरे।
आफूमाथि लाग्ने ‘जिद्दी’को आरोपबारे स्पष्ट पार्दै उनले गलत वा अनुचित कुरामा कहिल्यै अडान नलिने तर सही कामका लागि दृढतापूर्वक उभिने स्वभाव आफूमा रहेको बताए।
संघर्षपूर्ण जीवन सजिलो नहुने उल्लेख गर्दै उनले सही उद्देश्यका लागि गरिएको संघर्षको परिणाम अन्ततः सकारात्मक र सन्तोषजनक हुने धारणा व्यक्त गरे।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया