काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रताका लागि नेपाल शान्ति क्षेत्र हुनुपर्छ भन्ने प्रस्ताव अगाडि सारिएको बताएका छन् ।​

चुनावी घोषणा पत्रमा अगाडि सारिएको प्रस्तावबारे मिडियामा पर्याप्त प्रचार नभएकोमा उनले गुनासो गरे । माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सोचविचार गरी नेपाल शान्ति क्षेत्रको प्रस्ताव अगाडि सारिएको बताएका हुन् ।

‘नेपाल शान्ति क्षेत्र हुनुपर्छ भनेर प्रस्ताव ल्याएका छौं, सोचि बिचारी भनिएको कुरा हो । हिजो राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अन्तर्राष्ट्रिय समर्थन गरेको ऐतिहासिक पृष्ठभूमि थियो,’ प्रचण्डले भने, ‘राजाले भन्नु र माओवादीले भन्नु फरक छ । नेपाल भूराजनीतिक अवस्थामा छ, देशको स्वतन्त्रताको रक्षा, विकास र समृद्धिको अभियान अगाडि बढाउन अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेकोले यसको अगुवाई हामीले नै गर्ने हो ।’

प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अग्रगमन र पश्चगमनको लडाईं हुन लागेको बताए । उनले चुनाव जित्नकै लागि नभइ आर्थिक क्रान्तिको सपना पूरा गर्न आफू गोरखाबाट चुनाव लड्न लागेको बताए ।

 

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com