काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले व्यावसायिक तथा जिम्मेवारपूर्ण पत्रकारितालाई आजको आवश्यकता बताउँदै निर्वाचनमा सञ्चार जगत्को भूमिका महत्वपूर्ण हुने धारणा राखेकी छन् ।
निर्वाचन आयोगसँगको सहकार्यमा राष्ट्रिय समाचार समिति (रासस) ले आज काठमाडौंमा आयोजना गरेको ‘पत्रकार महिलाका लागि निर्वाचन समाचार र आचारसंहिताको अभिमुखीकरण’ कार्यक्रममा बोल्दै सचिव बस्नेतले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चार माध्यमहरूको योगदान अपरिहार्य रहेको उल्लेख गरिन् ।
उनले भनिन्, “मतदाताले प्रेसबाट प्राप्त सूचनाका आधारमा धारणा बनाउँछन् । त्यसैले वास्तविक र सत्य समाचार सम्प्रेषणमा विशेष जोड दिनुपर्छ । मतदाता निर्धक्क भएर मतदान केन्द्रमा पुग्ने र सहज रूपमा मतदान गर्न सक्ने गरी समाचार प्रस्तुत गरौं ।”
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनलाई सहयोग पुग्ने गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले प्रभावकारी सन्देश प्रवाहका लागि स्पष्ट उद्देश्य, लक्षित समूह र आधारभूत तथ्य आवश्यक रहेको बताए । “सन्देश कसका लागि र किन तयार गर्ने भन्ने स्पष्ट नहुँदा प्रभावकारिता कमजोर हुन्छ र मिथ्या सूचनाले स्थान पाउँछ,” उनले भने ।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालना गर्नु हरेक पत्रकारको दायित्व भएको बताइन् । राससका महाप्रबन्धक सन्दीप राईले निर्वाचनका बेला सूचना तथा समाचारको चाप बढ्ने भएकाले पत्रकारहरूले गम्भीरता र निष्पक्षताका साथ सामग्री प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
समाचार महाशाखाका उपप्रमुख एकराज पाठकले सूचना प्रविधिको द्रुत विकासले ल्याएका चुनौतीलाई सामना गर्दै समाचारलाई विश्वसनीय बनाउन समाचारदाताहरू चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा राससका महिला पत्रकारहरूका साथै नेपाल पत्रकार महासङ्घ, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका महासङ्घ प्रतिनिधि, प्रेस काउन्सिल नेपाल, सञ्चारिका समूह, वर्किङ विमेन जर्नलिष्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र दैनिकका महिला पत्रकारहरू सहभागी थिए ।
यो अभिमुखीकरण कार्यक्रमले निर्वाचनको समयमा आचारसंहिता पालना, निष्पक्ष समाचार सम्प्रेषण र मिथ्या सूचना रोक्न पत्रकारहरूलाई थप जिम्मेवार बनाउने उद्देश्य राखेको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया