काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन केही अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई कुनै पनि प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र सेवामैत्री बनाउन सवारीसाधन सञ्चालनसम्बन्धी कार्यविधि, २०८२ अनुसार यस्तो व्यवस्था गरिएको हो।
आयोगले नेपाल सरकारलाई सिफारिस गर्दै अत्यावश्यक सेवा अन्तर्गतका सवारीसाधनले मात्र सम्बन्धित प्रयोजनका लागि प्रयोग हुने र असम्बन्धित यात्रु नबोक्ने शर्तमा पास नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ।
यस अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्ने छैन। साथै दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतका सवारीसाधन र अस्पताल सेवासम्बन्धी सवारीसाधनले पनि सहज रूपमा सञ्चालन गर्न पाउनेछन्। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गराउने सवारीसाधन पनि पासबिना सञ्चालन गर्न पाइनेछ।
त्यसैगरी अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका सवारीसाधनले विमानस्थलदेखि घर वा होटलसम्म र सो स्थानबाट विमानस्थलसम्म आवतजावत गर्दा पास लिनुपर्ने छैन।
हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साना बच्चासहितका महिला, कीरियापुत्री, अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक मतदाता र उनीहरूको एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि निर्बाध सञ्चालन गर्न अनुमति दिइएको छ।
‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षकका सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ।
निर्वाचन अवधिभर सवारीसाधन व्यवस्थापनलाई सहज बनाउन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारी आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ। सो डेस्कबाट काठमाडौं, भक्तपुर र ललितपुरका लागि आवश्यक सवारी पास जारी गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया