काठमाडौं । वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित एक उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। पर्सागढी नगरपालिका–५ हर्दियाका करिब २६/२७ वर्षीय विरेन्द्र पण्डितको ज्यान गएको हो।

महेश शर्माले सञ्चालन गरेको एक्स पिएम उद्योगमा आइतबार साँझ काम गर्ने क्रममा मेसिनले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

advertisement

‘काम गर्ने क्रममा मजदुरको मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको छ। अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली खटिएको छ,’ उनले बताए।

घटनापछि मृतकका आफन्त र गाउँलेहरू आइतबार साँझ उद्योग परिसरमा पुगेका थिए। उनीहरूले घटना शंकास्पद भएको दाबी गर्दै उद्योगका सञ्चालक उपस्थित नभएसम्म थप कानुनी प्रक्रिया अघि नबढाउनुपर्ने माग गरेका छन्।

प्रहरीका अनुसार आफन्त र स्थानीयले दुर्घटना कसरी भयो भन्ने विषयमा चासो व्यक्त गरेका छन्। पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्रले घटनाबारे थप जानकारी लिन कम्पनी मालिकको प्रतीक्षा भइरहेको बताए।

उनले भने, ‘मजदुरले काम गरिरहेको सिसिटीभी फुटेज र प्रहरी उद्योगमा आएको फुटेज उपलब्ध छ, तर घटना भएको समयको फुटेज देखिएको छैन। त्यसैले घटना शंकास्पद देखिएको छ। कम्पनीका मालिक सम्पर्कमा आएका छैनन्, हामी उहाँको प्रतीक्षामा छौं।’

मृतकका आफन्त र स्थानीयले कम्पनी मालिक आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने अडान लिएका छन्। प्रहरी नायब उपरीक्षक बस्नेतले भने अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने बताएका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com