काठमाडौं। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बन्ने नेपाल सरकारसँग मिलेर काम गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ ।
काठमाडौंस्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँगको सहकार्यलाई महत्व दिँदै नेपालको लोकतान्त्रिक प्रक्रिया तथा विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “बेलायतले नेपालको निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वास राख्छ । निर्वाचनपछि बन्ने सरकारसँग हामीले पहिलेझैं मिलेर काम गर्नेछौं । नेपालको आर्थिक विकास, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन तथा सुशासन जस्ता क्षेत्रमा हाम्रो सहयोग जारी रहनेछ ।”
बेलायतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा दुवै देशका जनताको हितमा काम गर्न तयार रहेको पनि उल्लेख गरेको छ । यो विज्ञप्ति निर्वाचनको मौन अवधिमा जारी गरिएको हो, जसले बेलायतको नेपालप्रतिको निरन्तर प्रतिबद्धतालाई दर्साउँछ ।
फागुन २१ गते हुने निर्वाचनपछि बन्ने नयाँ सरकारसँग बेलायतले विकास साझेदारी, व्यापार, लगानी तथा कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरेको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया