जनकपुर। धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालबालिका घाइते भएका छन् ।
बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेका दुई बालबालिकाको खुट्टाले छोएपछि उक्त वस्तु विस्फोट भएको थियो ।
विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अङ्गहरूमा सामान्य चोट लागेको छ । घाइते दुवै बालबालिकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको कारण तथा वस्तुको प्रकृति पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले स्थानीयवासीलाई यस्ता शंकास्पद वस्तु भेटिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ । यो घटनाले स्थानीय क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया