सर्लाही। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेको अवस्थामा राष्ट्रिय मुक्ति पार्टी नेपालका एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–२ का ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । गए राति सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

advertisement

प्रहरीले यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिएका छन् ।

यो घटना निर्वाचनको मौन अवधिमा मतदातालाई प्रभाव पार्ने प्रयासका रूपमा हेरिएको छ । निर्वाचन आयोगले मौन अवधिमा मत माग्ने, प्रभाव पार्ने वा आर्थिक कारोबार गरी निर्वाचनलाई प्रभावित गर्ने कार्यलाई शून्य सहनशीलताको नीति अपनाएको छ । यस्ता कार्यमा संलग्न भएमा उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउनेसम्मको कारबाही हुने व्यवस्था छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरी दोषीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही अघि बढाउने बताएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com